|  

सुस्मितासँगै बसेका युवक झुण्डिएको अवस्थामा मृत भेटिए

२० पुस, काठमाडौं । प्रेमिकाको होटलमा मृत्युपछि फरार भनिएका युवक पनि झुण्डिएको अवस्थामा फेला परेका छन्। 

पुस १६ गते राति गौशालाको पिंगलास्थानको एक होटलमा युवती मृत भेटिएकी थिइन्। २१ वर्षीया सुस्मिता खड्काको मृत्युपछि उनका प्रेमी भनिएका देवबहादुर थापा फरार थिए। 

तर आज उनै देवबहादुर झुण्डिएको अवस्थामा फेला परेका हुन् । ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। 

शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए।

युवतीको मृत्युको कारण अझै खुलेको छैन। देवबहादुरसँगै पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी खड्काको शव गएको बुधबार फेला परेको थियो।

जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए। देवबहादुर केही समय जापान बसेर फर्किएका हुन्। ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए। मृतक सुस्मिताको घर पनि आलापोटमै हो।

उनीहरू पुस १६ गते राति साढे १० बजे पिंगलास्थानस्थित होटल बागमतीको कोठा नं. ३०८ मा छिरेका थिए। १२ बजे थापा कोठाबाट बाहिर निस्किए। त्यसक्रममा उनले बाहिरबाटै चुक्कुल लगाएको प्रहरीले जनाएको छ।

लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलिएको थियो। त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो।