|  

भीम रावललाई विराटनगरमा राजावादीको स्वागत

२० पुस, काठमाडौं । गोल्ड फुटबल प्रतियोगिताकाे उद्धाटन गर्नका लागि सुनसरी जान लागेका एमालेका पूर्व नेता भीम रावललाई विराटनगरमा राजावादीहरुले खादा मालाले स्वागत गरेका छन्।

पूर्व गृहमन्त्रीसमेत रहेका रावललाई गत पुस १० गते नेकपा एमालेले पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी हटाएकाे थियाे। 

शनिबार उद्‌घाटन हुने भने पनि प्रतियोगिता भने अन्तिम समयमा आएर प्राविधिक कारण देखाउँदै सरेको छ। 

नेकपा एसका केन्द्रीय सदस्य वसिम आलाम नेतृत्वको समूह तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे नागरिक बचाउने महाअभियानमा जाेडिएका सुनसरीका सतीश पोखरेलसहितको समूह रावललाई स्वागत गर्न विराटनगर विमानस्थलमा पुगेको थियो।

सतीश पाेखरेलकाे समूहले राजावादीहरूले राजतन्त्र पुनःस्थापना लागि लगाउने नारा ‘जय देश जय नरेश’ को नारा घन्काएर राष्ट्रिय झण्डासहित रावललाई स्वागत गर्न पुगेका थिए। तर, प्रहरीले भने राष्ट्रिय झन्डा विमानस्थलमा लैजान रोकेको थियो।