|  

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

२१ पुस, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय चःमतिमा बस्ने छ ।

बैठकको आरम्भमा संविधान परिमार्जनबारे छलफल हुनेछ।त्यसपछि पार्टीको राजनीतिक प्रतिवेदनको प्रस्तावनाको व्याख्या एवम् सर्वांगिण विकासको भावी रोडम्यापबारे छलफल हुने छ ।

जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, कार्यक्रम तालिकाबारे छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिंकट्यांक एवम् केन्द्रीय विभागको पुनर्संरचनाबारे छलफल हुने स्रोतले जनाएको छ ।

त्यस्तै, पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन, पार्टीको आचार संहिताबारे छलफल र बैठकको समीक्षा गर्दै समापन हुने छ ।