२१ पुस, काठमाडौं । सर्लाहीमा वडाध्यक्षकै नेतृत्व रहेको समूहले मापसे चेकिङमा अवरोध पुर्याएको भन्दै प्रहरीले हवाई फायर गरेको छ ।
शनिबार बेलुकी ९ बजे सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ५ स्थित वैजनाथ चोकमा प्रहरीले मापसे चेकिङ गरेको थियो । सोही बेला वडा नम्बर ५ का अध्यक्ष शिवनन्दन यादव नेतृत्वमा लाठी र ढुंगामुढा भएको थियो । चेकिङमा अवरोध पुर्याएपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको हो ।
प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ। अहिले उनको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ । अहिले सडक दुर्घटना न्यूनिकरण गर्नका लागि प्रदेशभर मापसे र लापसे (लागुऔषध सेवन) चेकिङलाई तिव्रता दिइएको छ ।
त्यसैलाई निरन्तरता दिँदै सर्लाहीमा पनि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिएको थियो।उक्त टोलीले चेकिङ गर्नेक्रममा स्थानीयसँग विवाद भएको थियो। विवाद भएपछि वडा नम्बर ५ का वडाध्यक्ष यादवकै नेतृत्वमा भीड प्रहरीमाथि जाइलागेको प्रहरीले जनाएको छ ।