|  

पार्टीबाट बाहिरिने नेताप्रति बाँस्कोटाको कटाक्षः ‘खाएको थालमा चुठ्नु राम्रो होइन’

२१ पौष, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आएको थालमा चुठ्नु राम्रो नभएको तर्क गरेका छन् ।

पार्टी छोडेर जाने नेताप्रति लक्षित कटाक्ष गर्दै आज उनले स्वार्थ पूरा गरेर जानेहरूले खाएको थालका चुठेको बताएका हुन् । बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन, ‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकाङ्क्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने संस्कार वाहियात नै हो ।’

उनको यो बयान पूर्व प्रहरी प्रमुख समेत रहेका एमाले नेता सर्वेन्द्र खनालले पार्टी छोडेको घोषणापछि आएको हो । यसअघि एमालेले भीम रावलसहितका नेतामाथि कारबाही गरेको थियो । त्यसपछि गत बुधबार पत्रकार सम्मेलन गर्दै नेता रावलले पार्टी नेतृत्व विशेष गरी अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौँ प्रश्न गर्दै असन्तुष्टि पोखेका थिए ।