२१ पुस, काठमाडौं । चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ भाइरसको आतंक फैलिएको छ ।
भाइरसका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाएको दाबीसहितका समाचारहरू आइरहेका छन् । पछिल्लो स्थिति देखेर सर्वसाधारणहरू सतर्क भएको बताइएको छ । भाइरस ह्यूमन मेटान्यूमोभाइरस (एचएमभीपी) भएको बताइएको छ । चिसो मौसममा उत्तर चिनियाँ प्रान्तमा विशेषगरी बालबालिकाहरू भाइरसको चपेटामा आएको बताइएको छ ।
चिनियाँ अस्पतालमा मानिसहरू मास्क लगाएर हिँडिरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । स्थानीय पत्रिकाहरूले पनि एचएमभीपीको प्रकोपलाई कोभिडको महामारीको शुरुआती अवस्था जस्तै बताएका छन् । स्वास्थ्य अधिकारीहरूले संक्रमणमाथि निगरानी गर्न र फैलिन नदिन आकस्मिक उपायहरू अपनाइरहेको पनि भनिएको छ ।
तर चीन सरकारले भने वर्षेनी हिउँदमा यस्ता बिरामी देखिने भन्दै स्थिति भयावह नभएको बताइरहेको छ । एचएमभीपी श्वासप्रश्वासमा आक्रमण गर्ने भाइरस हो । यसको संक्रमणपछि संक्रमितमा रुघा खोकी वा इन्फ्लुएन्जाको जस्तै लक्षण देखिन्छ । यसमा अधिकांश बिरामीको स्थिति मध्यम नै हुन्छ । तर विशेष गरी बालबालिकामा यो गम्भीर बनेर निमोनिया नै गराउँछ । प्रतिरक्षा प्रणाली कमजोर भएका वृद्धहरू पनि छिटै यसको चपेटामा आउँछन् ।