२१ पौष, काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका-५ स्थित वैजनाथ चोकमा डियुटिमा खटिएका प्रहरी टोलीमाथि नै आक्रमण भएको छ ।
गय राति सवारी साधन चेकजाँच गर्ने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन । स्थानीयसँग झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । गय राति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा चेकिङ भइरहेको बेला रामनगर गाउँपालिका-५ का वडाध्यक्ष शिवनन्दन यादवसहितको युवाले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्थानीयको आक्रमणबाट ट्रफिक प्रहरी हवल्दार शैलेन्द्र राय गम्भीर घाइते भएका छन । उनको टाउकोमा गहिरो चोट लागेकाले जनकपुरको न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनापछि त्यस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन भइरहेको छ । आफूले प्रहरीमाथि आक्रमण नगरेको र गाउँका युवाले आक्रमण गर्न थालेपछि छुट्याउन मात्र त्यस ठाउँमा पुगेको वडाध्यक्ष यादवले स्पष्टिकरण दिएका छन् ।