२१ पौष, काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो । प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो ।
त्यस्तै ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न पनि राय दिएको हो । सरकारी वकिल कटुवालले भने नाम र ठेगाना खुलेका ३९ जना प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो । केहीको तीन पुस्ते खुलाउन पनि सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएका छन् ।