|  

​​​​​​​सबै जिल्लामा एकै पटक भूमि आयोग गठनको तयारी 

२१ पौष, काठमाडौं । सत्ता साझेदार दलहरूबीच भागवण्डा मिलेसँगै ७७ वटै जिल्लामा एकै पटक भूमि आयोग गठनको तयारी गरिएको छ ।

अहिले उम्मेदवारको खोजीलाई तीव्रता दिइएको छ । आयोगको जिल्ला अध्यक्षमा सत्तारुढ दलबिच मिलेको भागबन्डा अनुसार कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुङ्ग्याएका हुन । यद्यपि कुन जिल्ला कसले पाउने भन्ने विषय गोप्य राखिएको छ । 

तर, सबै दलहरूले आफूले पाउने भाग पाएका जिल्लामा अध्यक्षको खोजी गरिरहेका छन् । सबै दलले नाम सिफारिस गरे बमोजिम आयोगको घोषणा गरिने जनाइएको छ । अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । यो बैठक सकिँदासम्म नाम टुङ्ग्याउने र त्यसपछि आयोग गठनको निर्णय गर्ने गरी तयारी अघि बढाएको भनिएको छ । हाल जिल्ला जिल्लाबाट नाम आउने क्रम रहेको बताइएको छ । अबको केही समयभित्रै सबै जिल्लाबाट नाम आइसक्ने र एकै पटक आयोग गठन गर्ने गरी भूमिसुधार मन्त्रालयको छ ।