|  

नेटफ्लिक्स र डिज्नी प्लस निःशुल्क देखाउन डिभाइस बेच्ने युवकलाई २ वर्ष जेल सजाय

२१ पाैष, काठमाडाैं । टिभीमा प्रिमियम कन्टेन्ट निःशुल्क हेर्न सघाउने डिभाइस बिक्री गरेको पुष्टि भएपछि एक युवकलाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।

प्रतिलिपि अधिकार (कपिराइट) कानुनको उल्लङ्घन गरेको भन्दै बेलायतका ४१ वर्षीय सनी कान्दालाई न्यु क्राउन अदालतले शुक्रबार दुई वर्षको सजाय सुनाएको हो । कान्दा बेलायतको क्रीक भ्यु ह्विट्ली ह्यालिफ्याक्सका बासिन्दा हुन् । बीबीसीका अनुसार कान्दाले २०२० देखि २०२२ को १८ महिनाको अवधिमा टिभीमा प्रिमियम कन्टेन्ट निःशुल्क हेर्न सघाउने ‘डजी स्टिक्स’ नामको डिभाइस बिक्री गरेका थिए ।

चार हजार सदस्य रहेको प्राइभेट फेसबुक ग्रुपमार्फत उनी सो डिभाइस बिक्री गर्दै आएका थिए । यो डिभाइस खरिद गर्ने व्यक्तिले टिभीमा नेटफ्लिक्स, डिज्नी प्लस, बीटी स्पोर्ट र स्काई जस्ता प्लेटफर्म निःशुल्क हेर्न पाउँथे । यसरी १८ महिनाको अवधिमा कान्दाले यी कम्पनीलाई एक लाख आठ हजार पाउन्ड ९करिब एक करोड ८३ लाख ६० हजार रुपैयाँ० क्षति पुर्‍याएको बताइएको छ । कान्दाले यसरी धोखाधडी, प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक गतिविधिसँग सम्बन्धित बैंक स्थानान्तरण लुकाउने तीन अभियोगमा दोषी ठहरिएपछि अदालतले सजाय सुनाएको हो । 

उनको धनसम्पत्ति जफत गर्न आदेश जारी गर्ने वा नगर्ने विषयमा आगामी ७ मे मा सुनुवाइ हुनेछ ।नेसनल ट्रेडिङ स्ट्यान्डर्ड्स, स्थानीय सरकार र बौद्धिक सम्पत्ति सङ्गठन फ्याक्टले गरेको अनुसन्धानपछि कान्दाका गतिविधि पत्ता लागेको बीबीसीले जनाएको छ । गैरकानुनी तरिकाले स्ट्रिमिङ प्लेटफर्मको एक्सेस दिने काम पीडायुक्त नभए पनि यसले सिर्जनात्मक उद्योगलाई कमजोर बनाउने जनाइएको छ । त्यस्तै उपभोक्ताको डेटा चोरीको जोखिम बढाउने र प्रायः अन्य गम्भीर अपराधहरूलाई पनि आर्थिक सहायता पुर्‍याउने विश्लेषण गरिएको छ ।