|  

आफूलाई चढ्न नदिएको भन्दै उपाध्यक्षले गरिन सरकारी गाडीमा तोडफोड

२२ पुस, काठमाडौं ।  सिरहाको विष्णुपुर गाउँपालिकाको सरकारी गाडी उपाध्यक्षले नै तोडफोड गरेकी छन् ।

उपाध्यक्ष गीताकुमारी सिंहले आफूलाई चढ्न नदिएको भन्दै गाडी तोडफोड गरेकी हुन् । उपाध्यक्ष सिंहले बा २ झ ३६४३ नम्बरको सरकारी स्कर्पियोमा इँट्टा र ढुंगा प्रहार गर्दा झ्याल, ढोकाको सिसासहित विभिन्न भागमा क्षति पुगेको छ । आइतबार बिहान १० बजे आफूलाई घरमा लिन आउन गाडी चालकलाई भने पनि नमानेपछि गाडी तोडफोड गर्नुपरेको उपाध्यक्ष सिंहले स्वीकारेकी छन् ।

‘बिहान १० बजे घरबाट मलाई लिन आउन गाडी चालकलाई फोन गरेँ । तर लिन नआएपछि म मोटरसाइकलमै कार्यालय आउँदा अध्यक्षकै घर अगाडि गाडी रोकिएर राखेको देखेपछि रिस उठेर गाडीमाथि प्रहार गरेकी हुँ,’ उनले भनिन्।

विष्णुपुर गाउँपालिकामा एक आफ्नै र एक भाडाका गरी दुई स्कर्पियो छन् । जसमध्ये गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि गाडी किनिएको छ भने भाडाको गाडी प्रमुख प्रशासकीय अधिकृत चढ्छन् ।