|  

ह्वावेले बजार कब्जा गर्न थालेपछि सस्तोमा आईफोन बेच्दै एप्पल !

२२ पुस, काठमाडौं ।  चिनियाँ बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि एप्पलले भारी छुटसहित आईफोन बिक्री सुरु गरेको छ ।

शनिबारदेखि चार दिनसम्मका लागि विशेष अफरअन्तर्गत कम्पनीले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा ५०० चिनियाँ युवान (करिब साढे नौ हजार रुपैयाँ) छुट दिएको हो । चीन एप्पलका लागि सबैभन्दा ठूलो र महत्त्वपूर्ण बजार मानिन्छ । तर, पछिल्लो समय चिनियाँ कम्पनी ह्वावेका प्रिमियम स्मार्टफोनका कारण एप्पलका उत्पादनहरूको माग घट्न थालेको छ ।

बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै एप्पलले पहिलो पटक आफ्नै खुद्रा च्यानलमार्फत यस्तो अफर ल्याएको हो । क्यानालिसको रिपोर्टअनुसार २०२४ को तेस्रो त्रैमासिकमा चीनमा एप्पलका स्मार्टफोनको ढुवानीमा ६ प्रतिशत गिरावट आएको छ । यसै अवधिमा एप्पलको बजार हिस्सा १६ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको छ । त्यसैबेला, ह्वावेले २४ प्रतिशत वार्षिक वृद्धि गर्दै आफ्नो बजार हिस्सा १३ प्रतिशतबाट १६ प्रतिशतमा पुर्‍याएको छ ।

अमेरिकी प्रतिबन्धका कारण प्रभावित ह्वावेले २०२३ देखि आक्रामक रूपमा नयाँ डिभाइसहरू बजारमा ल्याउँदै आफ्नो स्थान बलियो बनाएको हो ।चिनियाँ बजारमा ह्वावे ब्रान्डको प्रभाव बढ्दै गएपछि एप्पलले आफ्ना प्रिमियम फोनमा आकर्षक अफर ल्याएर बजारमा आफ्नो स्थान बलियो बनाउन खोजेको देखिन्छ ।