|  

खुम्बु क्षेत्रमा हवाई उडान अनिश्चितकालका लागि स्थगित

२२ पौष, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जसहित खुम्बु क्षेत्रमा हवाई उडान अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

वायुसेवा कम्पनीहरूले पुस २१ गतेदेखि अनिश्चिकालका लागि उडान स्थगित गरेको हो । निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय समूह तथा संघसंस्थाहरूको कारण देखाउँदै वायुसेवा कम्पनीहरूले उडान स्थगित गरेको वायुसेवा सञ्चालक संघ, नेपालका प्रथम उपाध्यक्ष प्रतापजङ पाण्डेले जानकारी दिए । खुम्बु क्षेत्रका स्थानीय युवा तथा संघ संस्थाहरूले निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तु सुरक्षा तथा बासस्थान संरक्षणमा चूनौति देखिएको भन्दै यही पुस १७ (जनवरी १, २०२५) बाट हेलिकप्ट उडानमा प्रतिबन्ध लगाएका थिए ।

खुम्बु क्षेत्रका स्थानीय तथा संघसंस्थाले निकुञ्ज क्षेत्रभित्र हेलिकप्टरका कारण वन, वातावरण तथा वन्यजन्तु सुरक्षामा चुनौती देखिएको भन्दै यही पुस १७ बाट हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएका थिए । यस क्षेत्रमा वार्षिक करिब ६० हजार पर्यटक आगमन हुने गरेको छ । त्यसमा करिब १५ प्रतिशत पर्यटकले हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । स्थानीय समूहहरूले हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धका सम्बन्धमा सम्बन्धित पदाधिकारीहरूसँग संघका प्राधिकारीहरूले पटक–पटक वार्ता गर्दा पनि कुनै निक्र्यौलमा पुग्न नसकेको बताइएको छ । हाल खुम्बु क्षेत्रका हेलिप्याडहरूमा झन्डा गाडी अवरोध सिर्जना गरिएको छ ।

आपतकालीन अवतरण गर्नुप¥यो भने पनि स्थान नरहेको भन्दै प्रथम उपाध्यक्ष पाण्डेले ‘सदस्य वायुसेवा कम्पनीहरूका जहाजहरू अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यलाई समातेर कारबाही गर्ने भन्ने जस्ता अभिव्यक्तिहरू दिएका छन् । उडानको प्रत्याभूति नभएसम्मका यो क्षेत्रका सम्पूर्ण उडानहरू स्थगन गरिएको बताइएको छ । उक्त क्षेत्रमा उडान भर्ने स्टल रुटका वायुसेवा कम्पनीहरूले पनि सुरक्षाको पूर्ण प्रत्याभूति नभएको खण्डमा क्रमशः आफ्ना उडानहरू स्थगन गर्ने पाण्डेले जानकारी दिए । उडान प्रतिबन्धका सम्बन्धमा स्थानीय गाउँपालिका, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, वन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका सरोकारवाला निकायहरूलाई वायुसेवा कम्पनीहरूले जानकारी गराएको बताएका छन्।