|  

अमेरिकामा दशकौं यताको भीषण हिउँदे आँधीः मौसमी चेतावनी जारी

२२ पौष, काठमाडौं । अमेरिकामा दशकौं यताको भीषण हिउँदे आँधीसँगै मौसमी चेतावनी जारी गरिएको छ ।

आँधीले कतिपय स्थानमा ठूलो हिमपात गराउनुका साथै चिसो निकै बढाएको छ । कान्सस, मिजोरी, केन्टुकी, भर्जिनिया, वेस्ट भर्जिनिया र अर्कान्सस राज्यसँगै न्युजर्सीका कतिपय स्थानमा संकटकाल घोषणा गरिएको छ । सबैभन्दा बढि कान्सस र मिजोरी राज्यमा प्रभावित भएका जनाइएको छ । आँधीले अमेरिकको पूर्वी तटीय क्षेत्र बढि प्रभावति हुने ठानिएको छ ।

मौसमविद्हरूले ‘पोलर भोर्टेक्स’ का कारण चरम मौसमी अवस्था उत्पन्न भएको जनाएका छान् ।आक्र्टिकमा फैलिने चिसो हावा भएको एक क्षेत्रलाई ‘पोलर भोर्टेक्स’ भनिन्छ । ओहायोदेखि वासिङटन डीसीसम्म १५ देखि ३० सेन्टिमिटरसम्म हिमपात हुने अनुमान गरिएको छ । सामान्यतः मौसम राम्रो हुने फ्लोरिडा राज्यमा पनि अत्यधिक चिसो हुने मौसमविद्हरूको अनुमान छ । न्युयोर्क राज्यका उत्तरी क्षेत्रमा तीन फिटभन्दा बाक्लो हिउँ परिसकेको छ ।

आँधी प्रभावित क्षेत्रमा हजारौं उडानहरू रद्द भएका छन् भने अधिकांश सडकहरू अवरुद्ध भएका छन् । अमेरिका भित्रिने र बाहिरिने १५ सयभन्दा बढी उडान रद्द भइसकेका छन् । झन्डै ५ हजार उडान प्रभावित हुने जनाइएको छ । अमेरिकन, डेल्टा, साउथवेस्ट र यूनाइटेड एअरलाइन्सले उडान परिवर्तन गर्दा लाग्ने शुल्क हटाइएको जनाएका छन् । एम्ट्र्याकले पनि कैयौँ रेलसेवा स्थगित गरेको छ । त्यस्तै, शैक्षिक संस्थाहरू बन्द भएका छन् ।