|  

कान्ति अस्पतालको सेवा गुणस्तरीय भएको मन्त्री पौडेलको दाबी 

२२ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति अस्पतालले दिने गुणस्तरीय सेवाका कारण अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको बताएका छन् ।

कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । कान्ति अस्पतालको क्षमता बढेमा मात्रै बाल उपचारको क्षेत्रमा सकारात्मक सुधार हुन सक्ने उनको धारणा छ । सरकारी स्तरबाट सञ्चालित एक मात्रै बाल उपचारको रेफरल सेन्टर भएकोले पनि भिडभाड हुनु स्वभाविक भएको उनको धारणा थियो । अस्पतालले प्रवाह गर्ने सेवा गुणस्तरीय बनाउन अस्पतालमा कार्यरत्त कर्मचारीहरुकै भूमिका महत्वपूर्ण हुने उनको तर्क छ । 

अस्पतालमा आएका सम्पूर्ण बिरामीहरुलाई कसरी उपचार सेवा दिन सकिन्छ भन्नेमा प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने तथा त्यसमा सरकारको तर्फबाट सहयोग हुने मन्त्री पौडेलको आश्वासन छ । कान्ति अस्पतालप्रतिको आघात विश्वासका कारण आफ्नी छोरीको उपचार समेत कान्ति बाल अस्पतालमा नै गराएको मन्त्री पौडेलले बताए। त्यसकारण कान्ति अस्पतालबारे भइरहेको नकारात्मक हल्लामा सत्यता नभएको मन्त्री पौडेललेको जिकिर छ । तर कान्ति अस्पतालको व्यवस्थापकीय पक्षमा भने केही त्रुटि भएको मन्त्री पौडेलले स्वीकार गरे ।

आवश्यक जनशक्ति, उपकरण, भौतिक पूर्वाधार तथा कर्मचारीको अन्य सरकारी अस्पताल सरह सेवा सुविधा नहुँदा कार्यरत्त जनशक्तिमा नैराश्यताको स्थिती भएकोले त्यसलाई राज्यले सम्बोधन गर्न आवश्यक रहेको उनको धारणा थियो ।