२२ पौष, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
अनिलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन । केहीअघिसम्म उनी काठमाडौंमा थिए । जिल्ला प्रहरी कार्यालय मोरङले अब अनिलको खोजी सुरु गरी थप अनुसन्धान अघि बढ्ने जनाएको छ ।
वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाश प्राप्त कर्मचारी सप्तरी घर भएका बैआलाल चौधरीको छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै २०७१ देखि ०७३ का बीचमा पटक पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले बुझेका थिए । पटक पटक गरी चौधरीले नबिल बैंकको खातामार्फत रकम बुझेका थिए ।