|  

लोकतन्त्रको सृदृढीकरण पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ : राष्ट्रपति

२२ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर  सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पुर्‍याएको योगदान सराहनीय भएको बताएका छन् । 

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताए ।

उनले भने, ‘स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधार स्तम्भ भएकाले नै हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । त्यहीभएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मूख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।’

उनले सूचनाप्रविधिको तीव्र विकाससँगै समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउदै योसँगै सूचना प्राप्ति र सम्प्रेषणमा सजिलो भएसँगै छिटो सूचना दिने होडवाजीमा मिथ्या सूचना प्रवाह हुन सक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्न सक्ने खतरातर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी रहेको बताए ।