|  

शेख हसिनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी

२२ पुस, काठमाडौं ।  बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण (आईसीटी) ले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जसमा पूर्व प्रहरी प्रमुख र सेनाका जनरलहरू पनि रहेका छन् । उनीहरु सबैलाई जबरजस्ती बेपत्ताका घटनामा भूमिका खेलेको आरोप छ ।

आईसीटीले हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको यो दोस्रो पटक हो । गत वर्ष अगस्टमा अवामी लिग सरकारविरुद्ध ठूलो प्रदर्शन भएको थियो । त्यसपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएकी थिइन् । त्यसपछि उनी भागेर भारत पुगेकी थिइन् । आईसीटीले उनीविरुद्ध तीनवटा मुद्दा दर्ता गरेको छ ।

शेख हसिनासहित १२ जनालाई पक्राउ गरी फेब्रुअरी १२ गते न्यायाधिकरणमा पेश गर्न आदेश दिइएको छ । यो मुद्दा सयौं व्यक्तिलाई जबरजस्ती बेपत्ता पारिएको गुनासोसँग सम्बन्धित छ । हसिनाका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व आईजीपी बेनजीर अहमद लगायतका नाम मुद्दामा परेका छन् । सिद्धिक हाल हिरासतमा छन् भने अहमद फरार रहेका छन् ।

मुख्य अभियोजक इस्लामले आईसीटीलाई बंगलादेशमा हसिनाको शासनकालमा राज्यको सहयोगमा जबर्जस्ती बेपत्ता पार्ने संस्कृति सुरु भएको बताए ।