|  

भूकम्पः काठमाडौंमा छतबाट हामफाले एक पुरूष, बारामा ११ विद्यार्थीहरू बेहोस

२३ पुस, काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६ः ५० बजे गएको ७ म्याग्निच्युडको भूकम्प नेपालमा पनि महसुस भयो ।

भूकम्प आउँदा काठमाडौं उपत्यकालगायत ठाउँका मानिसहरू घरबाहिर निस्किएका थिए । काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट पुरूष हामफालेका थिए । भूकम्पको धक्का महसुस भएपछि ती पुरूष डेढ तले घरको छतबाट हामफालेका थिए । नागार्जुन नगरपालिका वडा नम्बर १० स्युचाटार बस्ने ती पुरूष घरको छतबाट हामफालेका हुन् ।

दुवै खुट्टामा चोट लागेका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यता बारामा भूकम्पको धक्का महसुस भएपछि विद्यार्थीहरू बेहोस भएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। उनीहरू डिस्चार्ज भइसकेका छन् ।