२३ पुस, काठमाडौं । बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ ।
सोमबार अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका वडा नम्बर १ डुडिलकी २१ वर्षीया सबिता बोहराको मृत्यु भएको हो।सुत्केरी ब्यथा लागेपछि समयमै स्वास्थ्य संस्थामा नपुग्दा उनको मृत्यु भएको जनप्रतिनिधिले बताएका छन्।मृतक सबितालाई आइतवार साँझ सुत्केरी ब्यथाले च्यापेको थियो ।
सोमबार बिहान चार बजे अत्यधिक गाह्रो भएपछि उनका सासुसुराले स्वास्थ्य संस्थामा लैजादै थिए । घरबाट केही समय पर गएपछि सबिताले बाटोमै बच्चा जन्माइन् । बच्चा जन्माएको केही समयैपछि उनको अत्यधिक रक्तश्राव हुन थाल्यो । सासुससुरा आत्तिए र रायल प्राथमिक स्वास्थ्य केन्द्रमा फोन गरे ।
त्यहाँबाट एक जना एचए र अनमी गरी दुई जना स्वास्थ्यकर्मीसहित एम्बुलेन्स घटनास्थल पुग्यो । स्वास्थ्यकर्मीको टोली त्यहाँ पुग्दा आमा र शिशुको अवस्था चिन्ताजनक रहेको उनीहरूले बताएका छन् । दुवैलाई एम्बुलेन्समा प्राथमिक केन्द्रसम्म पुर्याउँदा उनीहरूको मृत्यु भयो । सबिताको यो पहिलो बच्चा थियो।