|  

वाइडबडी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन माग

२३ पौष, काठमाडौं । वाइडबडी जहाज प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन सांसदहरूले माग गरेका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले समितिकै पहलमा वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन गरेका हुन । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए । विशेष अदालतले अख्तियारको छानबिनमा समेत प्रश्न उठाएकाले छानबिन समिति बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । उनले वायुसेवा निगमले व्यावसायिक हिसाबले काम गर्न नसकेको जिकिर गरे ।

त्यस्तै, सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका विषयमा छानबिन हुनुपर्ने बताए । सांसद देवी प्रकाश भट्टचनले पनि वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताए ।