२३ पौष, काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निष्काशित भएका नेताहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिएका छन् ।
तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्दै ओलीले जवाफ दिने क्रममा यस्तो बताएका हुन् । बैठकमा केन्द्रीय सदस्यहरुले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माग गरेका थिए । जवाफमा ओलीले भनेका छन, ‘पिलो निचोरिँदैमा आफ्नो वजन घट्दैन । उनीहरुको माथिको कारबाही पुर्नविचार÷पुनरावलोकन पनि हुँदैन ।’
साथै अध्यक्ष ओलीले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने चेतावनी दिए । उनले विन्दा र उषा कहिल्यै पार्टीको पक्षमा नबोलेको बरु पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखे । ओलीले रावलको जिल्ला जाँदा कांग्रेसका नेताहरु फूलमाला लिएर आएको तर उनी देखासमेत नपरेको भन्दै गुनासो पनि गरे । ‘भीम रावललको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे तर उनी देखा समेत परेनन्,’ ओलीले अगाडि भने, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो।’
सोही क्रममा ओलीले आफ्ना सन्तान नभएकाले पैसा धन सम्पत्तिको आवश्यकता नरहेको बताए । आफूलाई पैसाको खाँचो नपरेकाले भ्रष्टाचार गर्ने कुरै नभएको उनको तर्क छ ।