|  

सबै तहलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्नेमा गगन थापाको जोड 

२३ पौष, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

संघीयता सवलीकरणका सन्दर्भमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले सबै तहलाई अधिकार सम्पन्न बनाएर संघीयता कार्यान्वयन गर्नुपर्ने भन्दै त्यसो गर्दा पनि काम गर्न नसके समाधानको उपाय खोज्नुपर्ने बताए । अहिले ठूला दल मिलेर सरकार गठन भएकाले सदनबाट कानुन बनाउन सहज हुने उनको भनाइ छ । अब संघीयता कार्यान्वयनसम्बन्धी कानून बनाउन ढिलाइ गर्न नहुने उनले जोड दिएका छन् ।

महामन्त्री थापाले पुराना र नयाँ भनिएका दलहरूसमेत संघीयताप्रति उदार भने हुन नसकेको जिकिर गरे । उनले संविधान संशोधनका लागि आवश्यक विषयमा खुला रुपमा बहस र छलफल हुने भएकाले यसप्रति कसैले शंका गर्न नपर्ने बताए । उनले सरकारमा गएकाहरूले अधिकारलाई मुठ्ठीमा राख्ने गरेकाले संघीयता नै दुर्घटनामा पर्ने देखिएको धारणा ब्यक्त गरेका छन् ।