|  

भूकम्पबाट तिब्बतमा भएको क्षतिप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

२३ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

साथै उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन् ।

यस भूकम्पबाट चीनमा भने अहिलेसम्म ९५ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।