|  

एमालेलाई निर्णायक शक्ति बनाउने अभियानमा जुट्न आह्वान

२३ पौष, काठमाडौं । नेकपा एमालेले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा सबैलाई एकजुट हुन आह्वान गरेको छ ।

आइतबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी विभाजन भएर गएकाहरुलाई फर्किन आग्रह गर्दैै यस्तो आह्वान गरेको हो । बैठकपछि एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले राष्ट्रिय शक्तिको निर्माण मुलुकको आवश्यकता भएको तर्क गरे । उनले राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव भएकाले यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव भएको जिकिर गरे ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले जानकारी दिए ।