|  

नेताहरु स्टन्टबाजीमा मात्र लागेको लालबाबु राउतको टिप्पणी

२३ पौष, काठमाडौं । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले वर्तमान सरकारको नेतृत्व गर्ने दलका नेता स्टन्टबाजीमा मात्र लागेको टिप्पणी गरेका छन् ।

आज प्रदेशसभाको बैठकमा वर्तमान सरकारको कामप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले स्टन्टबाजीले जनतालाई एक-दुई पटक मात्र गुमराह गर्न सकिने बताए । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई इंगित गर्दै उनले भने, ‘सरकारको मुख्यमन्त्रीको मर्यादा कुनै पार्टीको अध्यक्षले निर्धारण गर्ने होइन । तपाईं कुनै बन्द कोठामा ल्याएर ऊसँग स्पष्टीकरण लिनुस । कुरा गर्नुस, सम्झाउनुस् बुझाउनुस। कहीँ गल्ती भएको छ भने कुरा राख्न सकिन्छ तर पब्लिकली मुख्यमन्त्रीको गरिमालाई ठेस पुग्ने गरी स्पष्टीकरण सोधिन्छ । वाह! यो पनि फेरि दिग्भ्रमित गर्न, जनतालाई गुमराह गर्न ।’

आफूले पनि विभिन्न दलसँग मिलेर पाँच वर्ष सरकार चलाएको भन्दै उनले अहिले पनि पाँच वर्षमा पाँच जना जाने परिस्थिति देखिएको बताए । उनले बजेटमा पनि यो सरकारले स्टन्टबाजी गरेको आरोप लगाए ।