२३ पौष, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बनेको दाबी गरेका छन् ।
पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै उनले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर बैठकले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुंगा बन्ने र यसले निरन्तरतामा क्रमभंग गरेको प्रचण्डको भनाइ छ ।
फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र नेकपा (एमाले) को बैठकलाई देश-दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको भन्दै माओवादीले आफ्नो पार्टीको मात्र नभएर देशकै आगामी मार्गचित्र स्पष्ट गरेको जिकिर गरे । उनले दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमालेमध्ये कुन दल सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, कुन दल आन्तरिक लोकतन्त्रको पक्षमा र कुन दल निरंकुश रहेछ भन्ने राम्रोसित तुलना गर्ने अवसर पाएको पनि बताए ।