२४ पुस, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड र पानामा नहर नियन्त्रणमा लिने इच्छा त्याग्ने कुनै सङ्केत छैन ।
यी दुवै अमेरिकाको राष्ट्रिय सुरक्षामा अहम् भएको उनको भनाइ छ । ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिन सैन्य वा आर्थिक बल लगाउनु हुन्छ कि हुन्न भनेर सोधिएको प्रश्नमा उनले यी दुई मध्ये कुनै पनि आश्वस्त पार्न नसक्ने बताएका थिए । तर आर्थिक सुरक्षाका लागि दुवै अमेरिकालाई चाहिएको चाहिँ भन्न सक्ने उनले बताए ।
फ्लोरिडामा रहेको मार-अ-लागो होटलमा पत्रकार सम्मेलनमा क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ट्रम्प आफ्नो अभिव्यक्तिमा कत्तिको गम्भीर छन् भन्ने स्पष्ट छैन । डेनमार्क र पानामा दुवैले आफ्नो भूभाग त्याग्ने सङ्केत अस्वीकार गरेका छन् ।