|  

चीन भूकम्पः तिब्बतमा रहेका नेपालीको अवस्था के छ ?

२४ पुस, काठमाडौं । चीनको तिब्बत क्षेत्रमा मंगलबार गएको भूकम्पमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको छ ।

७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।

ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार तिब्बतमा करिब पाँच हजार जना नेपालीहरु छन् । भूकम्पको केन्द्रविन्दु दिङ्गी गाउँ र त्यस आसपासका क्षेत्रमा पनि करिब एक सय जना नेपाली व्यवसायीहरु छन् । तर उनीहरु सबै सुरक्षित रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

‘भूकम्प जानेबित्तिकै हाम्रा नेपाली समुदाय र यहाँका निकायहरूसँग सम्पर्क गर्‍यौं । उहाँहरू सुरक्षित हुनुहुन्छ । केही भएको छैन ।’ दूतावासले भन्यो ।