|  

मेक्सिको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्छुः ट्रम्प

२४ पुस, काठमाडौं ।  अमेरिकाको नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको खाडीको नाम फेर्ने बताएका छन् ।

उनले मंगलबार मेक्सिको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्ने अभिव्यक्ति दिएका हुन् । पहिलो कार्यकालमा ट्रम्पले मेक्सिकोसँगको सीमामा अग्लो पर्खाल लगाउने घोषणा नै गरेका थिए । तर सिनेटबाट सोका लागि बजेट भने पारित गर्न सकेनन् ।

मेक्सिकोको खाडीलाई अमेरिकाको तेस्रो तट भनिन्छ । यो दक्षिणपूर्वी अमेरिका पाँच राज्य भएर गएको छ । मेक्सिकोले भने यसलाई एल गोल्फो दि मेक्सिको भन्छ । 

सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिएयता नै मेक्सिकोसँग सीमा सुरक्षा र मेक्सिकोबाट आयातित वस्तुमा अतिरिक्त महसुल लगाउनेसम्म कयौँ कुरालाई लिएर ट्रम्पको खटपट भएको थियो । 

पश्चिमी गोलार्द्धको नक्सा पुनः कोर्ने यो उनको पछिल्लो संकेत हो ।ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य भनिरहेका छन् ।