२४ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ ।
भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा उत्रिएका हुन् ।एक वर्षदेखि कुरेर बस्दासमेत कोरिया जान नपाएको भन्दै भाषा परीक्षा पास गरेकाहरूले ग्वार्कोमा रहेको ईपीएस कार्यालय घेराउ गरेका छन् । उनीहरूले शाखाका निर्देशक राजकुमार राईलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
दक्षिण कोरियाले एचआरडी कोरियामार्फत सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रका लागि ईपीएस मार्फत कामदार माग गरेको थियो, जसमा ३५ हजार नेपालीले आवेदन भरेका थिए ।
तीमध्ये चार हजार जनालाई भाषा परीक्षामार्फत छनोट गरिएको थियो । छनोट भएकामध्ये हालसम्म ३१४ जनामात्रै कोरिया पुगेको ईपीएस कोरिया शाखाले जनाएको छ । थप ४७८ जनाको एलसी जारी भएको छ ।