|  

सहकारी ठगी मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी

२४ पौष, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बहस जारी छ । जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत ७ जना प्रतिवादीको थुनछेक बहस भइरहेको छ । सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, मीना गुरूङ, कृष्णबहादुर गुरुङ र आरती गुरूङविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

हिजो लामिछाने तर्फका कानुन व्यवसायीहरूको बहस गरेका थिए । उनीहरूको बहस सकिएपछि आज अन्य प्रतिवादीहरूको बहस सुरू भएको हो । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरू हुने जनाइएको छ । थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र  खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ ।