२४ पौष, काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी छिन ।
मोरङको धनपालथान ४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्न भनिएकी उनी आज अदालत खुल्ने बित्तिकै हाजिर भएकी हुन । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् । सोही प्रकरणमा नाम जोडिएकी कोइराला अदालत पुगेकी हुन ।