२४ पौष, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै एकताबद्ध बनेर शान्ति प्रक्रिया टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आज शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवालको विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन् । ऐन बनेपछि संक्रमणकालीन न्यायको विषय अगाडि बढ्ने आफूले सोचे पनि अवरोध भएको उनले टिप्पणी गरे । अहिले पनि संक्रमणकालीन न्यायको विषय टुंग्याउन कठिन हुनुमा राजनीति नै कारक रहेको उनको भनाई छ । उनले सडक र सदनबाट दबाब नदिए राज्य र राजनीतिक नेतृत्वलाई अब त बर्बाद भयो भन्ने नबनाएसम्म शान्ति प्रक्रिया टुंगोमा नपुग्ने धारणा राखे ।
प्रचण्डले बाह्र बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने धारणा राखे । उनले माओवादी नेतृत्वलाई तह लगाउने र सिध्याउने अन्तिम हतियार रुपमा संक्रमणकालीन न्यायको विषयलाई लिने गरिएको आरोप लगाए । उनले राष्ट्रिय सहमतिमार्फत पीडितको माग सम्बोधन र मुलुकका समस्या समाधान गर्नुपर्ने तर्क गरे ।