|  

नेपालको अर्थतन्त्रमा सुधार भइरहेको छः अर्थमन्त्री

२४ पौष, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार भइरहेको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौं समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले अर्थतन्त्रमा देखा परेका मुद्दाहरूलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरू अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने बताए । 

अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सो क्रममा नेपाली पक्षबाट पर्याप्त सहकार्य एवं समन्वय हुने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयहरूबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरेका छन् ।