|  

ठण्डी बढेपछि महोत्तरीका विद्यालय बन्द

२४ पौष, काठमाडौं । अत्यधिक चिसो बढेपछि महोत्तरीका विद्यालय बन्द गरिएको छ ।

विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि आजदेखि लागू हुनेगरी जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका हुन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको बताएका छन् । जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले आजदेखि लागू हुनेगरी पुस २९ गतेसम्मका लागि विद्यालय बन्द गरेका छन भने एकडारा गाउँपालिकाले आगामी माघ १ गतेसम्मका लागि विद्यालय बन्द गरेको छ ।

तराई मधेशमा विगत २/३ दिनदेखि एक्कासि शीतलहर र चिसो हावा चल्न थालेपछि कठ्याङ्ग्रिँदो र असहनीय जाडो भएर जनजीवन प्रभावित बनेको छ । असहनीय जाडोका कारण स–साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।