२४ पौष, काठमाडौं । संसदीय समितिले मूलपानी क्रिकेट रङ्गशाला निर्माणका लागि यथासिघ्र आर्थिक स्रोत उपलब्ध गराउन सरकारलाई भनेको छ ।
आज संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिवलगायतसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो । सरकारले मूलपानी क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ । पुल्चोक इन्जिनियरिङ कलेजले बनाएको डिजाइनअनुसार हालको तल्लो मूलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ । जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ । यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब-एयर प्रविधि हुनेछ । उनीहरूका अनुसार पानी परेको १० देखि १२ मिनेटभित्र मैदान खेल्न तयार हुनेछ ।
डिजाइनमा तल्लो र माथिल्लो मूलपानी मैदान समावेश छ । स्टेडियममा तीन तलाको अन्डर ग्राउन्ड पार्किङ, पुरुष र महिलाका लागि ३ सय क्षमताको होस्टेल, पौडीपोखरी, सुविधासम्पन्न ट्रेनिङ सेन्टर, फ्लडलाइट, साउन्ड सिस्टम, डिजिटल डिस्प्ले बोर्ड, ६ लेनको इन्डोर र आउटडोर प्रशिक्षणस्थल लगायतका संरचना छन । हालको माथिल्लो मूलपानी मैदान प्रशिक्षण मैदानको रूपमा रहनेछ ।