२४ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल निर्माण उद्योग परिषद्का पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । सरकारलाई गुणस्तर मापदण्ड पूूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारे । सोही क्रममा परिषद्का अध्यक्ष बलिभद्र रानासहितका पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्कामा मूल्य समायोजनलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । उनीहरुले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउनेगरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए । सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे । सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले विगतमा भूकम्पपछिको पुनःनिर्माणलाई सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे ।