|  

बालविवाह रोक्न नेपालगञ्जका युवा सक्रिय 

२४ पौष, काठमाडौं । बालविवाह अन्त्यका लागि बाँकेको नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् ।

विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न उनीहरु लागि परेका हुन् । जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवाक्लब गठन गर्ने अभियान सञ्चालन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका १३ वडामा युवाक्लब गठन गरिसकिएको छ भने अन्य वडामा पनि क्लब गठनको तयारी भइरहेको छ ।

बालविवाह, दाइजो प्रथा र सामाजिक रूपमा हानि गर्ने अभ्यास न्यूनीकरणका लागि युवाको सङ्गठन निर्माण गरी सामुदायिक गतिविधिमा सहभागिता वृद्धि गराउने र स्थानीय युवाबीच बलियो सामुदायिक सम्बन्ध स्थापना गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको भनिएको छ । अभियानमार्फतसचेत, सजग र सशक्त युवाको उपलब्धता हुने लक्ष्य राखिएको छ ।