|  

रवि लामिछानेविरुद्धको थुनछेक आदेश शुक्रबारसम्म आउने

२४ पौष, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणको थुनछेक आदेश शुक्रबारसम्म आउने भएको छ ।

सकभर भोलि साँझ नभए शुक्रबार थुनछेक आदेश हुने भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहितका प्रतिवादीतर्फको बहस न्यायाधीश नीतिज राईको इजलाशमा अन्तिम चरणमा पुगेको छ । भोलिका लागि जवाफी बहस गर्ने तालिका छ । जवाफी बहस छिट्टै सकिए भोलिसाँझ र नभए शुक्रबार थुनछेक आदेश आउने सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख सहन्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन । काफ्लेले भोलि फस्र्ट आवरमा जवाफी बहस सकिए भोलि साँझसम्म र नसकिए पर्सि थुनछेक आदेश आउने जानकारी दिइन् ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी रिटमा गरिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ । थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नेछ ।