२४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई आग्रह गरेकी छन् ।
नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् परराष्ट्रमन्त्री राणाले इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि आग्रह गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा. राणासँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग रााणाले विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन् ।
हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा. राणाले इजरायली राजदूतसँग जानकारी लिएकी छन् ।
भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका छन् ।