२४ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन समयमै गर्न केन्द्रीय कमिटीका नेताहरू उत्साहित देखिएका छन् ।
पार्टीको यही पुस २० र २१ गते स्वयम्भूमा बसेको बैठकले समयमै महाधिवेशन गर्ने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए । रास्वपाले गत असोज १ र २ गते पहिलो राष्ट्रिय भेला गरेको थियो । त्यहीबेला पहिलो महाधिवेशन वैशाख तेस्रो साता गर्ने निर्णय भएको हो । हालै बसेको दुई दिने बैठकमा ५५ जना केन्द्रीय कमिटीका नेताहरू उपस्थित थिए । बैठकमा सबै नेताहरूले समयमै महाधिवेशन गरेर पार्टीलाई नयाँ आकार दिनुपर्ने बताएका थिए ।
सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहे पनि रास्वपाले ६२ जिल्ला भेला र सम्मेलन गरिसकेको छ । हिमाली जिल्लाको भेला जाडो सकिएपछि गर्ने तयारी छ । उपत्यका लगायत सहरी क्षेत्रमा पालिका र वडा भेला भइरहेका छन् । रास्वपाले हालसम्म एक लाखजनालाई पार्टी सदस्यता दिइसकेको झाले बताए । यस्तै अन्य १ लाख हाराहारीले अनलाइन सदस्यता भरेका छन । तर उनीहरूको भेरिफाई गर्न बाँकी रहेको प्रवक्ता झाले बताए ।
२०७९ को निर्वाचनमा रास्वपाले देशभरबाट ११ लाख ३० हजार मत ल्याएको थियो । उपनिर्वाचनमासहित प्रत्यक्षका ८ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट ल्याएको थियो । तर, पार्टी सभापति लामिछाने सहकारी प्रकरणमा मुछिँदा रास्वपाको जनमत खस्कँदै गएको आँकलन भइरहेको छ । तर रास्वपा नेताहरू भने यो कुरा मान्न तयार छैनन । रास्वपाले सभापति जेल नै जाने अवस्था आए पनि महाधिवेशन गर्ने योजना बनाएको एकजना सचिवालय सदस्य बताउँछन । कुनै नाटकीय परिवर्तन नभए वैशाखमा महाधिवेशन हुने पक्का जस्तै छ । जसका लागि रास्वपाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाएको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए ।