२४ पौष, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजतन्त्रको अन्त्यपछि बहुदलीय व्यवस्था हुँदै अहिले गणतन्त्रमा आइसक्दा पनि मधेसी समुदायमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताएका छन् ।
जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानअन्तर्गत सप्तरीको कंचनरूपमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले मधेशीमाथिको भेदभाव, असमानता, शोषण र उत्पीडनमा कुनै कमी नआएको बताएका हुन् । मधेसी, आदिवासी जनजाति, मुस्लिम, थारु, महिला र दलित समुदायलाई राजनैतिक रूपमा पछाडि पार्ने काम हुँदै आइरहेको पनि उनले बताए ।
अध्यक्ष यादवले बहुदलीय व्यवस्था आएको ३५ वर्षमा मुलुकको अवस्था थप जर्जर भएको बताए । २०४६ को परिवर्तनपछि ३५ वर्षमा ३७ सरकार बने पनि सुशासन, गरिबी र बेरोजगारी हटाउनेतर्फ कुनै सम्भावना ल्याउन नसकेको यादवको आरोप छ । पछिल्लो ३५ वर्षमा कांग्रेस र कम्युनिस्टले देशलाई समस्यामा पारेको आरोप लगाउँदै उनले मुलुकमा भ्रष्टाचारीतन्त्र, कमिसनतन्त्र र लुटतन्त्र स्थापित भएको बताए । हरेक निकायमा कमिसनको खेल रहेको बताउँदै जसपा नेपालका अध्यक्ष यादवले बिचौलिया र कर्मचारीतन्त्र मिलेर मुलुक चलाउन खोजेको आरोप लगाए ।
सरकारको नेतृत्व गर्ने कांग्रेस र कम्युनिस्टले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाउँदै यादवले शिक्षा, कृषि, उद्योग, उत्पादन सबै क्षेत्रलाई पछिल्लो ३५ वर्षमा धराशयी बनाइएको आरोप पनि लगाए ।