२४ पौष, काठमाडौं । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
बुधबार मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइरालालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए ।
जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको हो । अदालतको आदेशपछि कोइरालाले नगदै १० लाख रुपैयाँ बुझाएर थुनामुक्त भएकी छन् ।
गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले मुद्दा दायर गरेपछि फरार रहेकी अञ्जला बुधबार अदालतमा उपस्थित भएकी थिइन् ।
सो प्रकरणमा धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो भने रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।