२४ पुस, काठमाडौं । सल्यानमा दुई छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले आमा अन्दाजी २६ वर्षीया पूर्णिमा रानामगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बनगाड कुपिण्डे नगरपालिका-११, सिस्नेपाल भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना बुधबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।
उनीहरूको हत्या आशंकामा उनीहरूकै आमा रानामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले जानकारी दिए । उनका अनुसार उनीहरूका बाबु टेकमान राना रोजगारीका सिलसिलामा नुवाकोटमा रहेको र घरमा छोरीहरूसँग पुर्णिमा मात्रै थिइन् ।
स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरू मृत अवस्थामा फेला परेको अवस्थामा आमाबाट नै घटना घटेको हुनसक्ने आशंकासहित पुर्णिमालाई पक्राउ गरिएको क्षेत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।