|  

बागमती सफाइ अभियानमा महानगरका वडाले सघाउने

२४ पुस, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग गर्ने सहमति जनाएका छन् । काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारको अध्यक्षतामा आज बसेको बैठकले आगामी दिनमा वडाको समन्वयमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अगुवाइमा प्रत्येक शनिबार हुँदै आएको सफाइ अभियानमा अबदेखि महानगरपालिकाका तत् तत् क्षेत्रका वडाध्यक्षसहितका जनप्रतिनिधिको सहभागिता रहने सहमति भएको अभियन्ता रामशरण कार्कीले जानकारी दिए ।

बैठकले आगामी साताको सरसफाइ वडा नं– ८ का वडाध्यक्षको संयोजनमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । काठमाडौं महानगरपालिकाका विभिन्न १० वटा वडा भएर बागमती बगेकोमा त्यसमध्ये आजको बैठकमा ७ , ८, ९, १० ,११ , १२ र १४ का वडाअध्यक्षले सहमति जनाएका हुन् । बैठकले आगामी दिनमा फोहर वर्गीकरण, व्यवस्थापन तथा पुनः प्रयोग गर्न प्रोत्साहन गर्ने तथा हेलचेक्रयाइ गर्नेलाई जरिवानासमेत गर्ने निर्णय गरेको छ ।