|  

सल्यान घटना : पतिसँग झगडा परेपछि दुई छोरीको ज्यान लिएको बयान

२४ पुस, काठमाडौं ।  सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको थियो । बुधबार बिहान घरभित्र  दिदीबहिनी ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका थिए ।

ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् ।  दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा २६ वर्षीया पूर्णिमाले दुवै छोरीको हत्या गरेको स्वीकारेकी छिन् ।

पूर्णिमाले दुवै छोरीका गला दबाएर ज्यान लिएको बयान प्रहरीलाई दिएकी छन् ।  पूर्णिमामा कुनै मानसिक देखिएको छैन । तर प्रहरीसँगको बयानमा उनले नुवाकोटमा रहेका पतिसँग बुधबार बिहान १० बजेतिर फोनमा झगडा परेपछि त्यही रिसमा छोरीहरूको ज्यान लिएको बताएकी छन् ।

दुवै बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। बालिकाका बुवालाई प्रहरीले नुवाकोटबाट झिकाइसकेको छ।