२५ पुस, काठमाडौं । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुनेछ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी-२० छनोट प्रतियोगिता हुन लागेको हो ।
दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ।बिहीबार दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ । शुक्रबार बाँके-पाल्पा र नवलपरासी- रूपन्देहीबीच खेल हुनेछ ।
यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुनेछ।पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।
छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ।प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन्।