२५ पुस, काठमाडौं । काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा उत्पादित सागजन्य तरकारीमा विषादीको प्रयोग बढी भेटिएको छ ।
कालीमाटी तरकारी बजार विकास समितिले दैनिकरुपमा परीक्षण गर्ने रिपोर्टमा रायो, भाजी, जिरी, मार्फा, पाकुचा लगायत सागमा विषादी भेटिएको हो ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार १४ वटा नमुना परीक्षण गर्दा ४ वटा सागजन्य तरकारीको नमुनामा विषादी भेटाएको छ । भक्तपुर क्षेत्रमा उत्पादन गरिएका जिरी र पाकुजा सागमा क्रमशः ८८.८४० प्रतिशत र ५४.८६४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी पाइएको छ ।
यस्तै, काठमाडौँ क्षेत्रमा उत्पादन भएका मार्फा सागमा ८३.६६३ प्रतिशत र भाजी तथा रायोको सागमा ९९.२३३ प्रतिशत अर्गानोफस्फेट विषादी पाइएको छ । समितिले पुस २३ गते ती सागहरूमा कार्बामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको जनाएको छ ।
उक्त सागमा ५५.६१९६ प्रतिशत कार्बामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको थियो ।