|  

सोलुखुम्बुमा गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

२५ पौष, काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय नवराज खालिङ राई रहेका छन् । बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ । 
आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु लगिएको बताइएको छ ।